Home » » एमालेमा एकता

एमालेमा एकता

Written By ram dhakal on Friday, February 17, 2012 | 9:00 PM

काठमाडौ, फाल्गुन ५ - 
एमालेमा अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीबीच लामो समयदेखि चल्दै आएको गुटबन्दीको विधिवत अन्त्य भएको छ । झन्डै दुई महिनायता एमालेले औपचारिक रूपमा गुटबन्दीको अन्त्यको घोषणासहित एकताको सन्देश दिँदै देशव्यापी अभियान चलाए पनि पार्टी एकता प्रस्ताव शुक्रबार केन्द्रीय समितिले अनुमोदन गरेको छ । 

यसअघि स्थायी समितिले पारित गरेको आन्तरिक एकता प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको हो । नेता केपी ओलीलाई पार्टीको तेस्रो बरीयतामा राख्ने स्थायी समितिको निर्णयलाई पनि केन्द्रीय समितिले अनुमोदन गरेको छ । अब नेता ओली एमालेको औपचारिक रूपमै तेस्रो बरीयतामा रहनेछन् ।

आठौं महाधिवेशनपछि अध्यक्ष झलनाथ खनाल र केपी ओलीबीचको आन्तरिक टकरावले पार्टी करिब समाप्त हुने स्थितिमा पुगेपछि एमालेमा आन्तरिक एकता अभियान सुरु भएको थियो । दुवै पक्षका युवा नेताहरू प्रकाश ज्वाला, खगराज अधिकारी, अरुण नेपाल, घनश्याम भुसाल, योगेश भट्टराई, गणेश तिमल्सिना, कर्णबहादुर थापा, देवी ज्ञवाली, विजय पौडेल, अरुण नेपाललगायतका युवा नेताहरूको पहलमा खनाल र ओलीलाई मिलाउने प्रयास एक वर्षअघिबाटै सुरु भएको थियो । पछिल्लो समयमा उपाध्यक्ष वामदेव गौतम, सचिव विष्णु पौडेल, शंकर पोखरेलसमेत आन्तरिक एकताका लागि सक्रिय भएपछि चरम अविश्वासको स्थितिमा रहेका दुई नेताबीच मिलेर जाने वातावरण बनेको हो । 

त्यसपछि दुवै पक्षका नेताहरूको छलफलका आधारमा स्थायी समितिमा अध्यक्ष खनालले आन्तरिक एकता प्रस्ताव ल्याएका थिए । प्रस्तावमा विगतका कमीकजोरीलाई आत्मसमीक्षा गर्दै पार्टी नीतिअनुसार चल्ने प्रतिबद्घता गरेका थिए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. nepalidarsan hara - All Rights Reserved
Template Created by Creating Website
Proudly powered by Blogger